सुनसरीमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने !

विनोद मेहता बुधबार, कार्तिक १७, २०७८

सुनसरी जिल्लाभरि राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्नका लागि समयसीमा तोकेको हो । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै मादक पदार्थ सेवन नगरी सभ्य र शान्तिपूर्ण तरिकाले देउसी भैलो खेल्न प्रशासनले आग्रह गरेको छ ।

‘चाडपर्वहरु सबैको इच्छा र सहभागितामा खुसीयालीपूर्वक मनाउनु हामी सबैको चाहना भएता पनि कोभिड–१९ रोगको संक्रमण दरमा केही कमी आएको भए पनि यसको प्रकोप बढ्न सक्ने सम्भावना भएकोले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी देउसी, भैलो, नाचगानजस्ता कार्यहरू राति १०ः०० वजेसम्म मात्र शान्तिपूर्ण रूपमा सञ्चालन गर्नुपर्ने छ’, प्रजिअ इन्द्रदेव यादवद्वारा विज्ञप्तिमा भनिएको छ । यस्तै, पटका, आतिसवाजी, झिरझिरे, भुईचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग नगर्न र त्यस्ता पदार्थहरूको निकासी, ओसारपसार एवं विक्री बितरण नगर्न प्रशासनले निर्देशन दिएको छ । यसैगरी, मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झै–झगडा गर्ने जस्ता कार्य नगर्न, भीडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलापजन्य कार्यहरु नगर्न र देउसी भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा सञ्चालन गर्न प्रशासनले परिपत्र जारी गरेको छ । त्यसबाहेक मठ, मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा अनावश्यक भीडभाड हुन नदिन र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी पुजापाठ लगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न प्रशासनले निर्देश गरेका छ ।

यहाँ कमेन्ट गर्नुहोस्