जनता अभियान बुधबार, कार्तिक २४, २०७८
आज छठ पर्वको मुख्य दिन । बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समाप्त हुनेछ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ व्रतालुले प्रसाद स्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीमा कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको छ । षष्ठीका दिन रातभर ननिदाइ बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुने छ ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । पहिले तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेकामा विगतका वर्षमा काटिएकामा यस वर्षदेखि फेरि बिदा दिइएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा उल्लेख छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् ।