जनता अभियान आइतबार, कार्तिक २८, २०७८
दोलखाका अगुवा तथा यात्रुहरुले सडक विस्तार अलपत्र पारेको भन्दै सवारी साधनमा मन्त्रीको फोटो टाँसेर विरोध गरेका छन ।
दोलखालाई राजधानीसँग जोड्ने मुख्य लामोसाँघु-जिरी सडकअन्तर्गत मुडे-चरीकोट खण्ड विस्तार ६ वर्षदेखि अलपत्र पारेको भन्दै उनीहरुले मन्त्री, सचिव र महानिर्देशकको तस्बिरसहितको ब्यानर सवारीमा टाँसेर विरोध गरेका हुन । सडक विस्तारका लागि दबाब दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको ब्यानर दोलखा-काठमाडौं आउजाउ गर्ने सार्वजनिक यातायातमा टाँसिएको छ ।
संघीय राजधानीमा जिम्मेवारी सम्हालेर बसेकाहरूको आँखा र कान खुलोस भनेर झक्झक्याउन आन्दोलन थालेको संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए । सडक विस्तार नभइन्जेल चरणबद्ध आन्दोलन गर्ने उनको चेतावनी छ ।
दुई वर्षमा काम सक्ने गरी जिम्मा लिएको भारतीय निर्माण कम्पनी सकिल हैदर र नेपालको शंकरमाली-सुनौलो खिम्ती जेभीले सडक विस्तार अलपत्र पारेको भन्दै स्थानीय आक्रोशित छन । निर्माण कम्पनी पटकपटक बेपत्ता भएपछि सडक झनै बिग्रिएको उनीहरूको भनाइ छ ।
लामोसाँघु जिरी सडकअन्तर्गत दोस्रो खण्डको मुडेदेखि चरीकोटसम्म ३० किलोमिटर सडक २०७२ सालबाट विस्तार सुरु भएको थियो । ठेकेदार कम्पनीले ७९ करोड रुपैयाँमा सडक विस्तारको जिम्मा लिएको थियो । तर पनि सडकको अवस्था उस्तै छ ।