चिकित्सक सवार मोटरसाइकललाई ट्रकले ठक्कर दियो, एक जनाको मृत्यु

जनता अभियान शुक्रबार, मंसिर ०३, २०७८

विराटनगरमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक चिकित्सकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बिहीबार राति साढे ११ बजेतिर विराटनगर–४ मा को १ ख ३२४४ नम्बरको मिनी ट्रकले प्र–२–०२–००३ प २१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेर धनुषाको जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर २७ वर्षीय निखिल पञ्जियारको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार मोटरसाइकल जनकपुर–३ घर भएका पञ्जियारले नै हाँकेका थिए । मोटरसाइकलको पछाडि सवार अर्का चिकित्सक जनकपुर–३ नै घर भएका २८ वर्षीय रामप्रताप साह भने घाइते भएको उनले बताए ।

साह विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका कन्सलटेन्ट फिजिसियन हुन् । घाइते साहको नोबेल अस्पतालमै उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । मोटरसाइकललाई ठक्कर दिएको ट्रक बूढीगङ्गा गाउँपालिका–२ बगबोनमा लगेर लुकाएको अवस्थामा फेला परेको थियो । दुर्घटनापछि मोरङको ग्रामथान गाउँपालिका घर भइ बूढीगङ्गा–५ मा बस्दै आएका ट्रक चालक ३८ वर्षीय प्रवीण माझी फरार छन् ।

यहाँ कमेन्ट गर्नुहोस्