जनता अभियान मंगलबार, मंसिर ०७, २०७८
प्रधानमन्त्री देउवालाई देखाउन देवानगन्जका सडक ‘टालटुल’ नेपालमा अतिथिलाई देखाउनका लागि सजिसजाउ गर्ने परिपार्टी नै छ ।
अतिथिलाई देखाउन अस्थायी रूपमा भत्किएकालाई टाल्नु, थोत्रेलाई नयाँ बनाउनु परम्परा नै बन्दै आएको छ । यस्तै परिपार्टीलाई सुनसरीको देवानगन्ज गाउँपालिकाले पनि कायमै राखेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई देखाउनकै गाउँपालिकाले लागि सडक सौन्दर्यीकरण गरेको थियो, जुन उनी गएको भोलिपल्टै कुरूप देखिएको छ ।
देवानगन्जको नवनिर्मित भवन उद्घाटन र बिपी स्मृति प्रतीमाको अनावरण गर्न आइतबार देवानगन्ज आएका थिए । उनी आउने भएपछि गाउँपालिकाले पुरानो भवनअगाडिको बाटो टालटुल गरेको हो । नवनिर्मित भवनदेखि उत्तर वडा नं १ स्थित बिपीको प्रतीमा रहेको स्थानसम्म आइतबार टालटुल गरेर चलाएको थियो । वर्षामा घुँडा–घुँडा पानी जम्ने ठाउँमा देउवा आउने भएपछि गिटी–बालुबाले टालेको थियो ।
त्यसमाथि धुलो नउडोस् भनेर पानी हालेर सामसुम बनाएको थियो । जता–जता जाने देउवाको सेडुअल थियो, सोहीअनुरूप काम गरेको भएपनि देउवा गएको दोस्रो दिननै धुलो उड्न थालेको भन्दै स्थानीयले गुनासो गरेका छन् । देखाउनका लागि भएपनि दीगो रूपमा काम गर्नुपर्ने स्थानीयको सुझाव छ ।