मोरङ कारागारमा १६ महिनाको अवधिमा १८ कैदी मृत्यु

जनता अभियान मंगलबार, मंसिर ०७, २०७८

विगत १६ महिनाको अवधिमा विराटनगरको हाटखोलास्थित जिल्ला कारागारका कैद भुक्तान गरिरहेका १८ कैदीको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ११ जना र चालु आर्थिक वर्षको मङ्सिर ४ गतेसम्ममा थप सात जना गरी १८ कैदीको मृत्यु भएको कारागार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । २०७७ साल साउन १५ गतेदेखि २०७८ साल मङ्सिर ४ गतेसम्ममा १८ जना कैदीको मृत्यु भएको छ ।

मोरङ कारागारमा २०७७ साल साउन १५ गते मोरङको केराबारी–४ का रमेश मगर, साउन १९ गते विराटनगर–१६ का विद्यानन्द मण्डल, भदौ १० गते विराटनगर–४ का निराजन यादव, भदौ १३ गते सुन्दरहरैँचा–५ का सुवर्ण सिंह तामाङको मृत्यु भएको थियो । असोज १४ गते अशोक राई, असोज २३ गते दिपेश महरा, असोज २९ गते शिवहाङ राई, कात्तिक १३ गते केवल कार्की, कात्तिक १८ गते सुमन दनुवार, कात्तिक ३० गते ऋषिराम भट्टराई, मङ्सिर ६ मा मोहम्मद अस्लम मियाँको मृत्यु भएको थियो ।

२०७८ सालको साउन ३० गते धरान–८ का ३० वर्षीय सुवास लिम्बु, भदौ १ गते मोरङको रतुवामाई–५ का ५२ वर्षीय धनबहादुर गुरुङ, भदौ १० मा सुनसरी रामधुनी–२ का २० वर्षीय सोम परियार, भदौ २४ गते पथरी–१० का ६० वर्षीय भीमलाल सुब्बा, कात्तिक २५ गते सुनसरी इटहरीका ४३ वर्षीय नारायण थापा, मङ्सिर ४ गते विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भयो । यस वर्ष नै सप्तरीबाट उपचार गर्न ल्याइएका महम्मद युसुपको मृत्यु भयो । २०७७ साल साउन १५ भन्दा अगाडिको मृत्यु विवरण–तथ्याङ्क भने मोरङ कारागारसँग छैन । र, तथ्याङ्क भएकाको पनि मृत्युको कारणबारे कारागार प्रशासन अनभिज्ञ छ ।

मोरङ जिल्ला कारागारका निमित्त प्रमुख जेलर रामप्रसाद पोखरेल कारागारमा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु भएपछि उनीहरूको मृत्यु के कारणले भयो भन्ने थाहा नहुने बताउँछन् । हालसम्म मोरङ कारागारमा मृत्यु भएका कैदीको पोस्टमार्टमसमेत भएको छैन ।

तर चौकिदारको चरम यातनाबाट अधिकांश कैदीको मृत्यु हुनेगरेको स्रोत बताउँछ । चौकिदारले मागेको रकम नदिएमा रातभरि यातना दिने र कुटपिट गर्नेसम्मका घटना कारागारमा हुन्छ । झन्, पछिल्लो समय गुन्डा नाइके अभिषेक गिरीको विपक्षी कैदीलाई यातना दिनेक्रम बढ्दा उनीहरू मृत्युको सिकार हुनेगरेको स्रोतको दाबी छ । गिरीलाई मोरङ कारागार फर्काउन हुँदैन भन्नेहरूले ज्यान गुमाउनु परेको स्रोत बताउँछ ।

यहाँ कमेन्ट गर्नुहोस्