जनता अभियान सोमबार, कार्तिक ०७, २०७९
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दसैं-तिहारको मुखमा पारिश्रमिक नदिई आफ्ना कर्मचारीलाई कामबाट निकालेको छ।
सुनसरीको हरिनगरा गाउँपालिकास्थित शाखा कार्यालयबाट नौ जनासहित २१ जनालाई चाडपर्वको मुखमा विभिन्न कारण देखाएर क्लासिक टेकले तलब नदिई जागिरबाट निकालेको हो।
चाडपर्वमा ‘बोनस’ दिनुपर्नेमा कामबाट निकालेर अन्याय गरेको भन्दै जागिर गुमाएका कर्मचारी क्लासिक टेकसँग रुष्ट बनेका छन्। कामबाट निकाल्नुभन्दा तीन महिनाअगाडि नै सूचना दिनुपर्ने गरी बनाइएको सम्झौताविपरीत बिनाजानकारी आफूहरूको जागिर ‘खोसेको’ भन्दै कर्मचारीले श्रम तथा रोजगार कार्यालयमा उजुरी दिएका छन्।
क्लासिक टेकअन्तर्गत हरिनगरा शाखा प्रमुख अरूणकुमार मेहताले बिनासूचना आफूलाई कामबाट निकालेको बताउँदै तलबबापतको ४५ हजार रुपैयाँ बक्यौता रकम पाउन बाँकी रहेको दाबी गरेका छन्।
देवानगन्ज गाउँपालिका-४ का २८ वर्षीय मेहता आठ महिनायता हरिनगरा शाखा प्रमुखका रूपमा कार्यरत् थिए। केही महिनाअघि मात्र उनको पदोन्नति भएको थियो। तर दुई दिनको बिदामा रहेको निहुँ बनाएर क्लासिक टेकले आफूलाई गत असोज २ गतेदेखि लागू हुनेगरी जागिरबाट निकालेको मेहताको गुनासो छ।
क्लासिक टेकले असोज महिनामा हरिनगराबाट पुष्पककुमार मेहता, अजयकुमार हरिजन, जितेन्द्र मेहता, सुनीलकुमार चौधरी, अजेन्द्र यादव, आशिष मलिक, नितुकुमारी यादव र अनिलकुमार चौधरीलाई कामबाट निकालेको उनले जनाएका छन्।
यस्तै, विराटनगरबाट खुश्वु साह, सुजर श्रेष्ठ, बबिता शर्मा, मिकन श्रेष्ठ, सुजन अधिकारीलाई जागिरबाट निकालेको बताउँदै उनले दुहबीबाट नारायण न्यौपाने, दमकबाट सञ्जय कालिकोटे, ढल्केबरबाट कृष्ण कर्ण र निश्चित कर्ण तथा लहानबाट सुरज साह, चपुरबाट नरेन्द्र राई र कलैयाबाट कृष्ण सिंहलाई कामबाट निकालेको बताए।
‘घरमा पूजा भएका कारण असोज २ र ३ गते कार्यालय जान पाइनँ,’ उनी भन्छन्, ‘बिदा स्वीकृत पनि भएको थियो। तर बिनाकारण मलाई कामबाट निकालियो। ममात्र होइन, चाडपर्वको मुखमा जागिरबाट निकाल्नु कतिसम्म जायज हो? मैले न्याय पाउन सकिनँ, अरूहरू पनि पीडित भए।’
क्लासिक टेक विराटनगर प्रमुख भूपालसिंह कार्कीले जागिरबाट निकालिएको भन्दै बिदा सकेर काममा फर्किएपछि आफूलाई कार्यालयमा हाजिरी गर्न नदिएको बताए। उनले असोज १२ गते भदौ महिनाको पारिश्रमिक र साउन महिनाको टिएडिए र एसएसएफबापतको रकम दिलाइदिन माग गर्दै श्रम कार्यालय विराटनगरमा निवेदन दिएका थिए।
जवाफमा क्लासिक टेकले असोज ३० गते शाखा प्रबन्धक मेहतालाई निलम्बन गरेको भन्दै श्रम कार्यालयमा पत्र पठाएको थियो। मेहताले अपेक्षाभन्दा ३० प्रतिशत कम व्यापार गरेको र दुई पटक स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नपाएको क्लासिक टेकले जनाएको छ।
त्यसबाहेक मेहताले कार्यालयको वित्तीय अनुशासन कायम गर्न नसक्दा सो कार्यालयमा कार्यरत् कर्मचारीले काउन्टरको पैसा व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको तथा उनको खराब व्यवस्थापनका कारण धेरै कर्मचारीले काम छोडेको क्लासिक टेक विराटनगर प्रमुख कार्कीले जनाए।
‘ब्रान्च इन्चार्जहरूले केन्द्रले दिएको टार्गेट पूरा गर्नुपर्छ,’ कार्कीले भने, ‘सोअनुरूप नभएपछि उहाँलाई पटकपटक स्पष्टीकरण सोधेका हौं। चित्तबुझ्दो जबाफ आएन। फेरि, उहाँका कार्यकालमा हरिनगरा शाखामा विभिन्न लापरबाही भयो। असोज २ गतेदेखि हाजिर हुन नदिइएको हो।’
अरू कर्मचारीमध्ये केहीले आफैं छोडेको र केहीलाई टार्गेटअनुसारको काम गर्न नसकेका कारण सेवाबाट निलम्बन गरिएको कार्कीले जानकारी दिए। ‘अरुणको विषय श्रममा चलिरहेको छ,’ उनले भने, ‘अरूको सवालमा भने तराईमा धेरैजसो कर्मचारी बिनाजानकारी बिदामा बसिदिन्छन् र कारबाही भोग्छन्। केहीले आफैं काम छोड्छन्। बैंकका इन्चार्जजस्तै हाम्रा शाखा प्रमुखले टार्गेट पाउँछन्। पूरा गर्न नसक्दा कामबाट निकालिनु स्वभाविक नै हो।’
यता, क्लासिक टेक पिआर रिलेसन हेड सुशीलजंग थापाले भने श्रम कार्यालयले दुवै पक्षलाई तिहारपछि छलफलमा बोलाएका कारण अहिले नै यस विषयमा मिडियामा खुल्न नसक्ने बताए।
‘दुबै पक्षको धारणा आइसकेपछि हामी दुवै पक्षलाई श्रम कार्यालयले तिहारपछि बोलाएको छ,’ उनले भने, ‘उहाँले धेर्यता गर्नुपर्छ। हाम्रो कमजोरी भए उहाँलाई एक महिनाको तलब हाल्छौं, उहाँ भए हिनामिनाको रकम र सामानको भरपाई गराउँछौं।’ काम छोडेका अरू कर्मचारीको हकमा भने तिहारपछि नै विवरण उपलब्ध गराउने सिंहको भनाइ छ।
हिनामिना र सामान गायब भएको दाबी
क्लासिक टेकले भने मेहता हरिनगरा शाखा कार्यालयको इन्चार्जका रूपमा रहँदा उनकै संलग्नतामा एक लाख आठ हजार रुपैयाँ रकम हिनामिना भएको दाबी गरेको छ। त्यहाँ कार्यरत् नितुकुमारी यादवले आफ्नो व्यक्तिगत प्रयोजनमा सो रकम खर्चिएको कार्कीको दाबी छ।
‘कलेक्सन गरेर ल्याएको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग भयो, उहाँकै संलग्नतामा यो काम भयो,’ उनले भने, ‘मान्छे अहिलेसम्म पनि फरार छ। हामीले अझै रकम पाउन सकेका छैनौं।’
त्यसबाहेक उनी शाखा प्रमुखको जिम्मेवारीमा रहँदा ठुलो मात्रामा ६ कोर फाइबर, सेटअप बक्स, राउटर, ड्रप वायर, एफटिटिएच बक्स, बम्बु स्टकका सामानहरू रेकर्डमा नदेखिएको क्लासिक टेकको दाबी छ।
‘कम्पनीको नियमअनुसार मेहताको भदौ एक महिनाको तलब मात्र दिन बाँकी छ,’ उनले भने, तर उनले मेहताले जिम्मेवारी लिएको हरिनगरा शाखा कार्यालयको चार लाख ८२ हजार नगद र त्यस शाखालाई उपलब्ध गराएको आठ लाख ९३ हजार रुपैयाँ बराबरको फाइबर र अन्य उपकरणहरूको हिसाब मिलान गर्न बाँकी छ। सो हिसाब मिलान हुनेबित्तिकै उनले पाउनु पर्ने तलब प्रदान गरिने छ।’
यता, मेहताले भने हिनामिना आफ्नो संलग्नतामा नभएको बताउँदै हिनामिना गर्नेहरूले रकम फिर्ता पनि गरिसकेको जानकारी दिए। ‘अहिले मलाई तल पार्न कम्पनीले रचेको योजना मात्र हो,’ उनले भने, ‘तबल नदिएका कारण रकम हिनामिना भएको भन्दै उनीहरूले रकम फिर्ता पनि गरिसके। मलाई यो मुद्दामा किन मुछ्नु?’
सामानहरूको विवरण कम्प्युटर सफ्टवेयरमा अपडेट गर्ने काम पहिलादेखि नै नहुने भएका कारण त्यसो हुन नसकेको उनको स्वीकारोक्ति छ।
कार्यालयको रकम हिनामिना गरेर ‘फरार’ भएको भन्दै यादवविरुद्ध क्लासिक टेकले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको थियो। उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले हिनामिना भएको रकमध्ये ९१ हजार रुपैयाँ क्लासिक टेकले पाइसकेको जनाएको छ।
सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले अब १७ हजार क्लासिक टेकले पाउन बाँकी रहेको बताए। ‘हिनामिना आरोपितमाथि अनुसन्धान गर्दा तलबबापतको रकम नपाएको गुनासो आयो,’ उनले भने, ‘१७ हजार रुपैयाँ पाउन बाँकी छ भन्दै ९१ हजार रुपैयाँ तिरिसकेको पाइयो।’
‘चाडपर्वमा निकालेर अत्याचार’
कृष्ण कर्णले ढल्केबर ब्रान्चको इन्चार्जका रूपमा सात महिना काम गरे। त्यसबीचमा क्लासिक टेकले उनलाई चपुर ब्रान्चमा सरुवा गर्यो। त्यहाँ पनि केही दिन काम गरे। तर उनलाई असोज १७ गते अर्थात् दसैंको टीकाको दुई दिनअघि कामबाट निकालियो।
‘दसैं बोनस पाउनुपर्ने थियो तर चाडपर्वको मुखमा जागिर खोसेर अत्याचार गरियो,’ उनी भन्छन्, ‘बोनस त के, अघिल्लो महिनाको तलबसमेत पाएको थिइनँ। अहिलेसम्म दिन्छौं भनेर ताकेता गरिरहनु भएको छ। तर पाएको छैन।’
पारिश्रमिक बापतको २२ हजार रुपैयाँ नपाएको उनको गुनासो छ।
यस्तै, हरिनगरा कार्यालयको फ्रन्ट डेस्कमा कार्यरत नितुकुमारी यादवले तलब नदिई चाडपर्वको मुखमा निकालेर आफूहरूमाथि अन्याय गरेको गुनासो गरिन्।
कर्मचारीले आफूखुसी व्यक्तिगत प्रयोजनमा रकम चलाएको र दोषजति आफ्नो थाप्लोमा खनिएको बताउँदै उनले भनिन्, ‘कलेक्सन गरेको रकम लिएर कर्मचारी काठमाडौं हिडेँ, मेरो नाम लगाएर टर्चर दिइयो,’ उनले भनिन्, ‘यसैले मेरो साथमा भएको एक लाख आठ हजार रुपैयाँमध्ये १७ हजार तलबबापतको रकम लिएर अरू रकम बुझाएकी हुँ।’