जनता अभियान शुक्रबार, बैशाख ०१, २०८०

काठमाडौं महानगरपालिकाले १ वैशाखदेखि अनलाइन प्रणालीबाटै नक्सापास गर्न सक्ने सेवा सुरू गरेको छ । घरको नक्सा दर्तादेखि प्लिन्थ लेभलसम्मको सेवा अनलाइनबाटै हुने मेयर बालेन्द्र साह(बालेन)ले जानकारी दिएका हुन् ।
मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।
यसअघि २–३ महिना लाग्ने प्रक्रियालाई बढीमा २५ दिनमा छोट्याउने दाबी मेयर साहले गरेका छन् । उनले सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको बताए । ‘यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भई पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ’ उनले भनेका छन् ।