दसैँ मनाएपछि धान काट्न व्यस्त किसान

जनता अभियान सोमबार, कार्तिक १३, २०८०

बडादसैँ मनाएपछि पाल्पाका किसान धान काट्न व्यस्त हुन थालेका छन् । गत असार र साउन महिनामा लगाएको धानबाली स्याहार्न किसान खेतमा धाउन थालेका हुन् । दसैँ मनाएपछि पाल्पाको रामपुर, माडी, अर्गली, कचल, गेझा, झडेवा, पूर्वखोला फाँटका किसान पाकेको धान काट्न खेतमा व्यस्त बनेका छन् ।

दसैँअघि नै पाकेको धान खुरिएर खेतमै झर्ने डरले अधिकांश किसानलाई धान काटेर स्याहार्ने हतारो छ । दसैँको बेलामा पोकेको धान १० दिन स्याहार्न ढिला हुँदा यहाँका अधिकांश किसानलाई धान काट्ने र स्याहार्ने हतारो भएको हो ।

धान काट्ने बेलामा चाडपर्व परेपछि अहिले सबैलाई धान काटेर सुकाउन हतार हतार भएको तानसेन–९, अम्लिहानका स्थानीय बासिन्दा बुद्ध बस्यालले बताउनुभयो । दसैँपछि सबै किसानले धान काट्ने हतारो गर्दा ज्यामीको समेत अभाव रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय पराल स्याहार्न, धान बोक्न, धान झार्न थ्रेसर, ट्याक्टरलगायतका मेसिनको प्रयोग भए पनि धान काट्न भने अझै मेसिनको प्रयोग हुन सकेको छैन । धान काट्ने मेसिनको प्रयोग नहुँदा ज्यामीको अभाव हुने गरेको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार ठुला आकारका खेत र टारी खेतमा धान काट्ने मेसिनको प्रयोग गर्न सकिने भए पनि खासै प्रयोग हुन सकेको छैन ।

सो केन्द्रकी प्रमुख कामना अधिकारीले यस वर्ष पाल्पामा आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । धान खेती आठ हजार ८२० हेक्टरमा गर्न सकिने भए पनि सिँचाइ अभावलगायतका कारणले करिब दुई सय हेक्टरमा धान खेती हुन सकेन ।

यहाँ कमेन्ट गर्नुहोस्