देवानगञ्जमा लक्ष्मी पुजाको उपलक्ष्यमा निकालिँदै आएको कलश यात्रा तथा मेलाको तयारी पुरा

विनोद मेहता बुधबार, कार्तिक २२, २०८०

देवानगञ्ज । सुनसरीको देवानगञ्ज बजारमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि लक्ष्मी पुजाको उपलक्ष्यमा भव्य कलश यात्रा तथा मेला हुने भएको छ । देवानगञ्ज गाउँपालिका वडा नं–२ मा रहेको श्रीकाली पूजा समिति देवानगञ्जको आयोजनामा यही कात्तिक २३ गते देखि हुने काली पुजा तथा धार्मिक झाकी कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको पूजा तथा मेला आयोजक समितिका रवी मिश्राले जानकारी दिए ।

श्री काली पुजा समितिले कलश यात्रा तथा मेलाको लागि एक महिना अघि देखी नै तयारी थालेको थियो । काली पूजा समितिका संस्थापक रहेका मनोज भगतले यही कात्तिक २२ गते बुधबारका दिन पूजा शुभारम्भ तथा प्रसाद ग्रहण हुने साथै दुई दिनसम्म बिहान र बेलुकी पूजा आरती र भजन सन्ध्याको कार्यक्रम रहने जानकारी दिए ।

उक्त काली पुजा तथा मेलामा भारतको बिहार राज्य स्थित जोगवनीबाट श्री महाकाल त्रिनेत्री झाकी ग्रुपद्वारा विभिन्न धार्मिक नृत्य गर्नुका साथै कलाकारहरूबाट भजन सन्ध्या प्रस्तुत गर्ने समेत भगतले जानकारी दिए ।

श्री काली पुजा तथा मेला कात्तिक २३ गते बिहीबारका दिन देवानगञ्ज बजार परिक्रमा गरेर नजिकै रहेको बुढी खोलामा एक हजार भन्दा बढी कलश यात्रीलाई सहभागी गराई कलश भरी मन्दिरमा राख्ने आयोजकले जनाएको छ ।

साथै उक्त कार्यक्रममा शान्ति सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय देवानगञ्ज, सशस्त्र प्रहरी बल कप्तानगञ्ज, ट्राफिक प्रहरी हरिनगरा र देवानगञ्ज गाउँपालिका वडा नं–२ ले तयारी सकेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्