जनकका छात्राहरूले गरेको थारू नृत्यले ततायो ग्रामथान

विनोद मेहता बिहिबार, पुष २६, २०८०

झोराहाट : मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले भेट्रान कप फुटबलको फाइनलमा आकर्षक नृत्य प्रस्तुत गरेको छ । बुधबार ग्रामथान-३ सिद्राहास्थित वाणी माविको मैदानमा भएको उपाधि भिडन्तमा जनकले आकर्षक नृत्य प्रस्तुत गरेको हो ।

प्रथम संस्करणको ग्रामथान भेट्रान फुटबल प्रतियोगिताको उपाधि विराटचोक भेट्रान क्लबले जितेको थियो । खेल सकिनुअघि जनकका विद्यार्थीहरूले राष्ट्रिय झन्डासहितको साँस्कृतिक नाच देखाएका हुन् । थारू संस्कृति तथा भेषभूषालाई प्राथमिकतामा राखेर जनकका छात्राहरूले आकर्षक नृत्य गरे । उनीहरूको नृत्यले खेलाडी, दर्शक र अतिथिहरूको मन जितेको थियो ।

थारू जातिको मौलिक कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ सांस्कृतिक नृत्य प्रस्तुत गरिएको विद्यालयका प्रिन्सिपल सुनील भगतले जानकारी दिए । त्यसअघि पुस १४ गते प्रतियोगिताको उद्घाटन खेलमा जनकका विद्यार्थीहरूले आफ्नो प्रस्तुति राखेका थिए ।

जनक ग्रामथान भेट्रान कपको प्रायोजक संस्थामध्येको एक हो । उसले पढाइबाहेक अतिरिक्त क्रियाकलापअन्तर्गत संगीत, नृत्य, गायन, खेलकुद, साहित्य जस्ता अतिरिक्त क्रियाकलाप गरिरहेको छ । पछिल्लोपटक उसले प्रदेश सांसदसँग विद्यार्थी नामक कार्यक्रम गरी आफूलाई फरक विद्यालयका रूपमा स्थापना गर्ने प्रयास गरेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्