अन्तरवार्ता मिति तोकिएपछि काममा फर्किए वीपी प्रतिष्ठानका शिक्षक कर्मचारी

जनता अभियान शनिबार, माघ २७, २०८०

बढुवाका लागि रोकिएको अन्तरवार्ता मिति तोकिएपछि एक महिनादेखि काम छाडेर आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । रोकिएको बढुवा प्रक्रियाको अन्तरवार्ता ६ फागुनबाट सुचारु गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी काममा फर्किएका हुन् ।

शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति (कास)बैठकले छ महिनादेखि रोकिएको बढुवाको अन्तरवार्ता ६ फागुनबाट सुचारु गर्ने निर्णय गरेको थियो । निर्णयपछि शनिबारबाट शिक्षक कर्मचारी काममा फर्किन  सहमत भएका हुन् ।

उपकुलपति कार्की र आन्दोलनरत पक्षबीच भएको सहमतिमा स्थगीत भएको अन्तरवार्ता ६ फागुनबाट सुचारु गर्ने र सो को नतिजा एक साता भित्र प्रकाशन गर्ने, आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापन पक्षले कारवाही नगर्ने, शिक्षक कर्मचारी र विद्यार्थीको आन्दोलन फिर्ता भएको उल्लेख छ ।

वर्षाैदेखि रोकिएको बढुवा प्रकृया सचारु गर्न माग गर्दै शिक्षक कर्मचारी पटक पटक आन्दोलित भएका थिए । प्रतिष्ठानले २०७९  पुस २० र माघ २५ गते बढुवाका अन्तरवार्ताको सूचना निकालेको थियो । तर बढुवा प्रक्रिया रोकिएको थियो । रोकिएको बढुवा प्रक्रिया बारेमा निर्णय गर्न भन्दै उपकुलपति कार्कीले २५ पुसमा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । तर उपकुलपति कार्कीले बैठक नराखेपछि शिक्षक कर्मचारी २९ पुसदेखि काम छाडेर आन्दोलनमा उत्रिएका थिए । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उपकुलपति कार्की अन्तरवार्ता सुचारु गर्न तयार भएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्