जनता अभियान सोमबार, माघ २९, २०८०

नेपालले क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लीनस्वीप गरेको छ। सोमबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज क्लीनस्वीप गरेको हो।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
नेपालका लागि अनिल शाह र भीम सार्कीले शतकीय पारी खेलेका थिए। अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए।
अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए। यो साझेदारी नेपालको एक दिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठूलो साझेदारी हो।
यसअघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो।
क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए।
त्यसैगरी, हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए।
त्यसैगरी, नेपाली बलर हेमन्त धामीले आफ्नो डेब्यू खेलमा ३ विकेट लिएका थिए।
त्यस्तै, कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले एक-एक विकेट लिएका थिए।
यो सँगै नेपालले सिरिज ३-० ले जितेको छ।