नर्सहरुको ब्युटी पेजेन्ट ‘मिस नेपाल पिस २०२४’ आयोजना हुने

जनता अभियान बिहिबार, फाल्गुण १०, २०८०

पूर्वमिस नेपाल नम्रता श्रेष्ठ व्यावसायिक दूत रहेको ‘मिस नेपाल पिस २०२४’ ले नयाँ संस्करणको घोषणा गरेको छ । नेक्स्ट मोडल नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको आवेदन खुला भएको जनाएको छ ।

शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । फागुन २६ गतेदेखि छनोट चरणको अडिसन आयोजना हुने उक्त अवसरमा जानकारी दिइयो ।

प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा १०० भन्दा बढी अस्पतालमा कार्यरत नर्सको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेशासँग सम्बन्धित ब्युटी पेजेन्ट हो । १६ देखि २८ वर्षसम्मका युवतीले भाग लिन सक्ने यो प्रतिस्पर्धामा डिजिटल वालेट खल्तीको एप र वेबसाइटबाट आवेदन दिन सकिने जनाइएको छ ।

छनोट चरणमा छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करिअर काउन्सिलिङ लगायतका प्रशिक्षण दिइने छ ।

अन्तर्राष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेशा रोजेका र अध्ययन गरिरहेकालाई पेशा र समाजप्रति थप उत्तरदायी बनाउने यो प्रतियोगिताको उद्देश्य रहेको जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्