न्याय नपाएसम्म मिटरब्याज पीडितहरू घर नफर्किने

जनता अभियान आइतबार, फाल्गुण १३, २०८०

लघुवित्त पीडित, मिटरब्याज पीडित र सहकारी पीडितहरूले सरकारले न्याय नदिएसम्म घर नफर्किने जनाएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले मिटरब्याज पीडितहरू लाखौंको संख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन्।

मिटरब्याज तथा ठगी बिरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत तीन वर्षदेखि निरन्तर आन्दोलनरत् रहेको बताए।

मिटरब्याज पीडितहरू लाखौंको संख्यामा रहेको र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानबिनका लागि बनेको आयोगको म्याद सकिएको उनले बताए।

उनले सरकारले तत्काल आयोगमार्फत् उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, निषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरू अवैध घोषणा हुनुपर्ने माग गरे।

त्यसैगरी पीडकहरूले घटाएको हिंसा, हत्या, बलात्कार लगायतका घटनाहरू छानबिन गरी उचित दण्ड सजायको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।

त्यस्तै, मिटरब्याज पीडित शिलादेवी ठाकुरले आफूले पटक–पटक गरी तीन लाख ऋण लिएकोमा ३०औं लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताइन्। ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उनले बताइन्।

सहकारी बचतकर्ता संरक्षणा राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरूको पक्षमा आफूहरूले ६३ दिन आन्दोलन गरेको उल्लेख गरे।

आन्दोलनका क्रममै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रदर्शनस्थलमै आएरपश्चात् सात बुँदे सहमति भएको उनले बताए।

यहाँ कमेन्ट गर्नुहोस्