अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

जनता अभियान मंगलबार, चैत्र १३, २०८०

बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन्। अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो।

कंगना आफ्नो गृहप्रदेश हिमाञ्चल प्रदेशको मन्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन्।

आइतबार भारतीय जनता पार्टीले सार्बजनिक गरेको उम्मेदवारहरूको सूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको छ।

कंगनाले एक दिनअगाडि नै चुनाव लड्ने संकेत दिएकी थिइन्। हिमाञ्चल प्रदेशको काँगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, ‘आमाले चाहनुहुन्छ भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु।’

टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिदै भनेकी छन्, ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैं मेरो भारतीय जनता पार्टीलाई बिनासर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाञ्चल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ।’

उनले पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उल्लेख गरेकी छन्।

कंगनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा सामाजिक सञ्जाल तथा सार्बजनिक रुपमै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कडा समर्थन गर्दै आएकी छन्।

पछिल्लो समय फिल्ममा सफल हुन नसकेकी कंगना राजनीतिमा आउने अनुमान धेरै पहिलादेखि गरिँदै आएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्